भक्तपुर । मालपोत कार्यालय भक्तपुरका प्रमुख अधिकृत कुमार आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २४ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको छ । आयोगका अनुसार कार्यालय सहयोगी टीकाराम राउतसहित प्रमुख आचार्यलाई कार्यालय परिसरमै घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।
टंगालस्थित अख्तियारको मुख्यालयबाट खटिएको टोलीले मंगलबार दिउँसो छापा मारी आचार्यलाई नियन्त्रणमा लिएको हो । उनीहरूले एकजना सेवाग्राहीसँग जग्गाको लगत कट्टाका लागि सो रकम घुसस्वरूप लिएको पाइएपछि अख्तियारले कारबाही अघि बढाएको जनाएको छ । आयोगले प्रमुख आचार्यका दुई वटा मोबाइल फोन समेत बरामद गरेको छ । आचार्यमाथि थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।
भैरहवा मालपोतमा पनि विवादास्पद रहँदै आएका थिए
कुमार आचार्य यसअघि भैरहवा मालपोत कार्यालयको प्रमुखका रूपमा कार्यरत रहँदा पनि विवादमा मुछिएका थिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गभित्र रहेको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा उनको संलग्नता उजागर भएको थियो ।
सिद्धार्थनगर नगरपालिका ५ स्थित विमानस्थल क्षेत्रभित्रको ४ बिघा १६ कठ्ठा ७ धुर जग्गा पर्वतराज कान्त मिश्रको नाममा दर्ता गराएको विषय अदालत हुँदै अख्तियारसम्म पुगेको थियो ।
त्यसबेलाको अनुसन्धानमा भूमाफियासँगको मिलेमतोमा काली मन्दिरजस्तो सार्वजनिक सम्पत्ति समेत निजी नाममा दर्ता गराउने कार्यमा आचार्यको भूमिका रहेको आशंका उठेको थियो । त्यसपछि उनी भक्तपुर सरुवा भएका थिए । तर, भक्तपुरमा पनि भ्रष्टाचारजन्य कार्य दोहोर्याउँदै आएको आरोप लागेको छ ।
अख्तियारले हाल उनीहरूविरुद्ध घुस लिएको कसुरमा भ्रष्टाचार निवारण ऐनअनुसार आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ ।






