पोखरा । यातायात व्यवस्था कार्यालय, कास्कीमा कार्यरत एक कार्यालय सहयोगी सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियामा घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराबाट खटिएको टोलीले कार्यालय सहयोगी दिपक पौडेललाई सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बुधबार नियन्त्रणमा लिएको हो ।
पौडेलले सेवाग्राहीको सवारी अनुमति पत्रको अनलाइन फारम भरीदिने, लिखित परीक्षा पास गराई ट्रायलमा पनि पास गरिदिने भन्दै घुस मागेको उजुरीका आधारमा उनलाई रंगेहात समातिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
आयोगको टोलीले मिति २०८२ असार ३१ गते उनलाई नगद रु ७ हजार घुससहित नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ ।






