इलाम । इलामको माईजोगमाई गाउँपालिका २ तारसिङ्गका २१ वर्षीय प्रकाश चापागाईको हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका १ सिरिसे निवासी ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
शेर्पाले सूर्योदय नगरपालिका १ भालुखोपस्थित ससुरालीमा आएका ३२ वर्षीय निरोज चापागाई र उनका भाई प्रकाश चापागाईमाथि धारिलो हतियार प्रहार गरेका थिए । घटनामा प्रकाश चापागाईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घाइते निरोज चापागाईलाई प्रारम्भिक उपचारपछि फिक्कल अस्पतालबाट थप उपचारका लागि झापा पठाइएको छ । हत्या पछि फरार रहेका आरोपी शेर्पालाई इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ भने हत्याको कारण खुल्न बाँकी छ ।






