रौतहट । रौतहटको कटहरिया नगरपालिका ५ कटहरिया गाउँ निवासी पत्रकार रविन्द्र प्रजापतिले झुण्डिएर आत्महत्या गरेका छन् । २९ वर्षीय प्रजापति शनिबार राति करिब ८ बजे आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
परिवारले पासो काटेर तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया पुर्याए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए । प्रजापतिको शव राति नै पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिए ।
रविन्द्र प्रजापति कटहरिया म्युजिकल एफएममा कार्यरत थिए, जहाँ उनी समाचार लेखन र वाचनमा संलग्न थिए । उनी प्रेस चौतारी नेपाल, रौतहट शाखाका सक्रिय सदस्य समेत थिए । तर, पत्रकारिता पेशाबाट सन्तुष्ट नभएका प्रजापति मलेसिया जाने योजनामा थिए ।
विदेश जान चाहिँदा उनले करिब दुई लाख रुपैयाँ एक एजेन्टलाई बुझाएका थिए । तर, एजेन्टको धोखाधडीले विदेश जान नपाएका उनी पछिल्लो समयमा निकै तनावमा थिए ।
यसै क्रममा, अर्को एजेन्टमार्फत पुनः मलेसिया जान खोज्दा उनले काठमाडौंमा मेडिकल गराएका थिए । मेडिकल परीक्षणमा छातीमा दाग देखिएपछि उनी गम्भीर मानसिक तनावमा परेको मृतकका निकट मित्रहरूले बताएका छन् ।
वैवाहिक तनाव र राजनीतिक दबाब
प्रजापतिको दाम्पत्य जीवन लामो समयदेखि तनावपूर्ण थियो । श्रीमतीसँग निरन्तर झैझगडा, मनमुटाव तथा कानुनी प्रक्रिया समेत चलेको थियो । दम्पती बीचको विवाद जिल्ला प्रहरी कार्यालयसम्म पुगेको थियो ।
यसबाहेक कटहरिया नगरपालिकाको खानेपानी समस्या बारे समाचार लेखेपछि नगर प्रमुख अजय प्रकाश जयसवालबाट उनी माथि गालीगलौज र धम्की आएको भन्दै प्रेस चौतारी नेपाल, रौतहट शाखाले विज्ञप्ति जारी गरी छानबिनको माग समेत केहि समय अघि गरेको थियो ।
प्रजापतिको मृत्युमा शोक व्यक्त गर्दै प्रेस चौतारी नेपाल, रौतहट शाखाले जारी गरेको शोक विज्ञप्तिमा लेखिएको छ – ‘जेठ महिनाको अन्तिम तिर खानेपानीको विषयमा सार्वजनिक रूपमा प्रश्न उठाएको कारण नगर प्रमुख जयसवालबाट उनी माथि धम्की आएको र त्यसकै कारण उनी गहिरो मानसिक तनावमा थिए ।’
संस्थाले घटना प्रति गम्भीर ध्यानाकर्षण गराउँदै सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानूनी कारबाहीको माग समेत गरेको छ । शोक विज्ञप्तिमा स्व. प्रजापतिको योगदान प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरिएको छ ।
अनुसन्धान जारी
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार आत्महत्याको यकिन कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । “मेयरको धम्की आत्महत्याको कारण हो भन्ने पुष्टि भइसकेको छैन,” डीएसपी कार्कीले भने ।





