काठमाडौं । जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारसहित प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अन्य प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट आंशिक सफाइ पाएको फैसलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा चुनौती दिएको छ ।
आयोगले आज (साउन ७ गते) सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको जनाएको छ । यसअघि विशेष अदालत, काठमाडौंले २०८१ असार २६ गतेको फैसलाबाट आंशिक सफाइ दिएको थियो ।
प्रतिवादीहरूमाथि जलेश्वर नगरपालिका १ महोत्तरीस्थित बरुणसर पोखरी नजिकको बजार क्षेत्रभित्रको पीपीसी ढलान योजनामा गरिएको कार्यभन्दा बढी रकमको मूल्याङ्कन गरी भुक्तानी दिएको आरोप लागेको हो ।
आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) अनुसारको कसुर ठहर गर्दै कुल बिगो रु. ५ लाख ८४ हजार ६३७ कायम गरेको छ । त्यसअनुसार अख्तियारले दफा ८(१) बमोजिम कैद सजायसहित बिगो बराबर जरिवाना र सोही रकम असुल उपर गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
विशेष अदालतको आंशिक सफाइपछि आयोगले उक्त निर्णय सन्तोषजनक नरहेको ठहर गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।






