सिराहा । सिराहामा शनिबार प्रहरीद्वारा दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जना पक्राउ परेका छन् । उनीहरू भारतबाट मोटरसाइकलमार्फत लागूऔषध नेपाल भित्र्याउने प्रयासमा थिए ।
पहिलो घटनामा, सिराहा नवराजपुर गाउँपालिका ४ स्थित सीमा नजिकै भारत मधुबनी ग्राम पंचायत बिरपुर ९ का ३८ वर्षीय श्याम सुन्दर पासवानलाई खैरो हेरोइन जस्तो देखिने ५० ग्राम ३७ मिलिग्राम पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
पासवान भारतबाट नेपाल प्रवेश गर्दै गरेका बेला बिआर–३२–एम–७३३८ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा पक्राउ परेका हुन् । उनलाई प्रहरीको विशेष टोलीले शनिबार दिउँसो नियन्त्रणमा लिएको हो ।
त्यसैगरी दोस्रो घटनामा, सिरहा नगरपालिका १५ बुधौराबाट शनिबार साँझ खैरो हेरोइन जस्तो देखिने करिब ८८० मिलिग्राम लागूऔषधसहित ३ जना युवालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा स्थानीय २४ वर्षीय मुकेश महरा, नगरपालिका १३ फुलबरियाका २० वर्षीय सतिश यादव र नगरपालिका २० सिकाज्योतीका २४ वर्षीय रमन कुमार यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मुकेशलाई म.प्र.०१–००४ प ६९६१ नम्बरको मोटरसाइकलमा, सतिश र रमनलाई म.प्र.०१–००४ प ९८६२ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । लागूऔषध कारोबार विरुद्धको अभियान अन्तर्गत सीमावर्ती क्षेत्रमा निगरानी अझ कडाइ गरिएको प्रहरी स्रोतले जनाएको छ ।




