धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १२ मा सडक विस्तार सम्बन्धी छलफलको क्रममा नेकपा एमाले वडा कमिटी सचिव नवराज दुवाडीमाथि हातपात भएको छ । उनी माथि जिल्ला मालपोत कार्यालय धादिङमा कार्यरत सवारी चालक अमृतजंग भण्डारी (अक्कल) ले आक्रमण गरेका हुन् ।
शुक्रबार वडाध्यक्ष धर्मराज भण्डारीको उपस्थितिमा वडा नं. १२ को पशुपति डाँडास्थित सडक विस्तारको विषयमा प्रभावित घरधनी र जग्गा धनीहरू बीच छलफल भइरहेको थियो । सोही क्रममा घर जग्गासँग प्रत्यक्ष सरोकार नभएका अमृतजंग भण्डारीले एकाएक एमाले नेता तथा जग्गाधनी दुवाडीमाथि हातपात गरेका हुन् ।
घटना प्रति एमाले वडा कमिटीले विज्ञप्ति जारी गर्दै कडा आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “सडक नजिकका उपभोक्तासँग भइरहेको छलफलमा असम्बन्धित व्यक्ति अमृतजंग भण्डारीले आक्रमण गर्नु आपत्तिजनक र अस्वीकार्य छ ।”
दुवाडीले सडक विस्तारको लागि आफ्नो जग्गा दिने सहमति जनाइसकेको अवस्थामा भएको आक्रमणको घोर भर्त्सना गर्दै कमिटीले दोषीमाथि तत्काल कडा कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
“सांघातिक आक्रमणमा उत्रिएका अमृतजंग भण्डारीलाई कानूनबमोजिम कडा कारबाही गरियोस्,” विज्ञप्तिमा उल्लेख गरिएको छ । यस विषयमा हालसम्म प्रहरीले कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । घटनाको अनुसन्धान जारी रहेको अनुमान गरिएको छ ।






