वीरगंज । मधेस प्रदेशमा खडेरीको संकट गहिरिँदै गइरहेको सन्दर्भमा, सिंचाइका लागि अत्यन्तै महत्त्वपूर्ण मानिएको ओरिया सिंचाइ योजना यस वर्ष पनि अधुरै रहने प्रष्ट संकेत देखिएको छ ।
प्रदेश सरकारको ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयको असहयोगका कारण पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका ५ स्थित दसौटा टोलमा निर्माणाधीन यो योजना समयमा सम्पन्न नहुने देखिएको हो ।
प्रदेश सरकारले ओरिया खोलाको पानीलाई व्यवस्थापन गरी गण्डक नहरमा मिसाउने उद्देश्यसहित आव २०७७/७८ मा योजना प्रारम्भ गरेको थियो । डिभिजन जलस्रोत तथा सिंचाइ विकास कार्यालय, पर्साका अनुसार, चालू आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयले उक्त योजनाका लागि केवल २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ, जुन बजेट योजना सम्पन्न गर्न अत्यन्तै अपुग रहेको कार्यालयले स्पष्ट पारेको छ ।
कार्यालय प्रमुख इन्जिनियर श्यामसुन्दर ठाकुरका अनुसार, ठेकेदार कम्पनीले तोकिएको समयमा काम सम्पन्न गरेमा झन्डै ७ करोड रुपैयाँ भुक्तानी दिनुपर्नेछ । तर मन्त्रालयबाट प्राप्त बजेट अत्यन्तै न्यून भएकाले ठेकेदार कम्पनीको उत्साह घटेको र योजना पुन: प्रभावित हुने जोखिम देखिएको छ ।
उनका अनुसार अघिल्लो वर्षको भुक्तानीमध्ये अझै ७० लाख रुपैयाँ बाँकी छ भने, हालको कार्य सम्पन्न गर्न करिब ७ करोड आवश्यक पर्छ । तर यस वर्ष मात्र २० लाख रुपैयाँ छुट्याइएकोले काम नै अवरुद्ध हुने खतरा छ ।
करिब २८ सय बिघा जमिनमा वर्षभरि सिंचाइ गर्ने लक्ष्यसहित सुरु गरिएको यो योजनाअन्तर्गत ओरिया खोलाको पानीलाई रोक्दै नजिकैको गण्डक नहरमा मिसाउने संरचना निर्माण भइरहेको हो ।
कुल लागत रु २९ करोड रहेको यस आयोजना टुन्डी बीएमएमएस जेभी कन्ट्रक्सन, जनकपुरले रु १७ करोड २५ लाखमा ठेक्का लिई कार्य सुरु गरेको हो । दुई वर्षभित्र योजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदारको ढिलासुस्ती र बजेट अभावका कारण पाँच वर्ष बितिसक्दा पनि योजना अधुरै रहेको छ ।
हालसम्म पनि निर्माण कार्य पूरा नभएकाले अन्तिमपटक चालू आर्थिक वर्ष २०८२/८३ को कार्तिक २८ गतेसम्म म्याद थप गरिएको छ । तर बजेट अभावकै कारण तोकिएको म्यादसम्म पनि काम सम्पन्न हुने सम्भावना न्यून देखिएको छ ।
यस अवस्थाले पर्सा लगायत आसपासका किसानहरूलाई निराश बनाएको छ, जसले वर्षौंदेखि सिंचाइ सुविधाको प्रतीक्षा गरिरहेका छन् । सरकारले योजनालाई प्राथमिकता दिएर समयमै बजेट सुनिश्चित नगरे किसानहरूको सपना फेरि अधुरो नै रहनेछ ।




