सर्लाही । सर्लाहीको मलङ्गवास्थित भन्सार कार्यालयमा समयमै लिलामी प्रक्रिया अघि नबढ्दा करोडौं रुपैयाँ बराबरका सवारीसाधन खुला आकाशमुनि थन्किएर नष्ट हुने अवस्थामा पुगेका छन् । यसले राज्यलाई ठूलो मात्रामा राजस्व गुम्ने खतरा उत्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले चोरी, तस्करी, अवैध सामान ढुवानी तथा नक्कली नम्बर प्लेटसहित प्रयोगमा आएका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनलाई विभिन्न समयमा नियन्त्रणमा लिई सर्लाही भन्सार कार्यालयमा बुझाउँदै आएका छन् । तर समयमै लिलामी प्रक्रिया अगाडि नबढ्दा ती सवारीसाधन प्रयोग गर्नै नसकिने अवस्थामा पुगेका छन् ।
भन्सार कार्यालयमा रहेका ती सवारीसाधन लामो समयदेखि खुला स्थानमै थन्किएका कारण जङ्गलझैँ झाडीले ढाकेका छन्, पाटपुर्जामा खिया लागेको छ र केही त स्क्र्याप जस्तै अवस्थामा पुगिसकेका छन् । स्थानीयबासीहरू राज्यले यिनबाट उठाउन सक्ने करोडौं मूल्यको भन्सार महसुल र कर गुमिरहेको भन्दै चिन्तित छन् ।
मलङ्गवा नगरपालिका २ का स्थानीय श्यामकुमार साह भन्छन्, “सुरुमा भित्र्याउँदा राम्रै अवस्थामा रहेका गाडीहरू लिलामीको बेवास्ता हुँदा अहिले कबाडमा परिणत भएका छन् । राज्यले उठाउन सक्ने राजस्व गुमिरहेको छ तर कसैको ध्यान जान सकेको छैन ।”
सर्लाही भन्सार कार्यालयका प्रमुख ठाकुर आचार्यका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा तीन पटक लिलामी प्रक्रिया सुरु गरिए पनि सफल हुन सकेन । “लिलामी प्रक्रिया अगाडि बढाइए पनि अपेक्षित परिणाम आउन नसकेपछि अहिले ती सवारीसाधन सुरक्षित रूपमा राख्न शेड निर्माणका लागि बजेट माग गरिएको छ,” उनले जानकारी दिए ।
उनका अनुसार सुरक्षा निकायबाट भन्सारमा बुझाइएका सवारीसाधनहरूलाई सुरक्षित तरिकाले राख्न तथा समयमा नै लिलामी प्रक्रिया सम्पन्न गर्न सम्बन्धित निकाय गम्भीर नहुँदा समस्या बढ्दो छ । यस्ता लापरवाहीका कारण राज्यको सम्पत्ति नष्ट हुनुका साथै सम्भावित राजस्व गुम्ने स्थिति सिर्जना भएको भन्दै स्थानीयले सरकारको ध्यानाकर्षण गराएका छन् ।
विश्लेषकहरू भन्छन्, यदि यस्ता सवारीसाधनको व्यवस्थापन तत्काल गरिएन भने भन्सार कार्यालय स्वयं ‘कबाडी स्थल’मा परिणत हुने खतरा रहन्छ । यस प्रति सम्बन्धित निकायले चासो देखाउने बेला भएको उनीहरूको धारणा छ ।






