बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ बाट अवैध लागूऔषध ट्रामाडोल १० हजार ३८० ट्याब्लेटसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुकी जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्ति भारत बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको जितना ग्राम पञ्चायत अगर्वा ६ कोडीगावा टोल निवासी ५० वर्षीय उपेन्द्र साह हुन् । प्रहरीका अनुसार साह बीआर ०५ बीके ७०३५ नम्बरको मोटरसाइकलमा सवार थिए ।
शंकास्पद गतिविधि देखिएपछि चेकजाँचका क्रममा मोटरसाइकलबाट ट्रामाडोलको ठूलो परिमाणमा ट्याब्लेट फेला परेपछि उनलाई पक्राउ गरिएको हो । ट्रामाडोल एक प्रकारको शक्तिशाली पेनकिलर (दु:खाइ निवारक) हो जसको दुरुपयोग व्यापक रूपमा लागूऔषधको रूपमा हुँदै आएको छ ।
पक्राउ परेका साहमाथि लागूऔषध नियन्त्रण सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रामाडोलको ओसार पसारमा संलग्न अन्य सम्भावित व्यक्तिहरू बारे पनि अनुसन्धान गरिरहेको जनाएको छ ।




