पाँचथर । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पाँचथरको फालेलुङ गाउँपालिका ७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बिहान फिदिम नगरपालिका ६ गोलेगाउँबाट पक्राउ गरिएका तामाङले बिहीबार राति फिदिम नगरपालिका १ नाम्दुस्थित ससुराली घरमा २२ वर्षीया श्रीमती अनु राईमाथि कोदालोको पासो प्रहार गरेका थिए ।
घटनामा गम्भीर घाइते भएकी अनुलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो । तर अवस्था गम्भीर भएपछि थप उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड पठाइएकी राईको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका महेन्द्रलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले खोजी गरी फिदिम ६ स्थित गोलेगाउँबाट पक्राउ गरेको हो । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।






