सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घारिबथानमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । गोमन सर्पले डसेपछि उपचारका क्रममा ५० वर्षीया सीता परियारको ज्यान गएको हो ।
बिहीबार साँझ घरमा पालेको सुँगुरलाई चारो दिन जाने क्रममा परियारलाई गोमन सर्पले खुट्टामा दुई पटक डसेको थियो । सर्पले डसेपछि उनलाई तत्कालै नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
उनको केन्द्रमा उपचार सम्भव नभएपछि जनकपुर रेफर गरिएको थियो । जनकपुर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको ईश्वरपुर १२ का वडा सदस्य खेमबहादुर बुढाथोकी (दिनेश) ले जानकारी दिए ।
नवलपुर सर्पदंश उपचार केन्द्रका इञ्चार्ज जगर्नाथ यादवका अनुसार परियारलाई ल्याउँदा अवस्था निकै जटिल भइसकेको थियो । ‘उनी बोल्न सक्ने अवस्थामा थिइनन्, थुक समेत निल्न सक्दैन थिए,’ यादवले भने, ‘हामीले १० भाइल एन्टिस्नेक भेनम दिएर जनकपुर रेफर गरेका थियौं ।’
सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर र आईसीयू जस्ता अत्यावश्यक सेवा नहुनु तथा दक्ष जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार असम्भवजस्तै हुने अवस्था रहेको यादवले बताए ।
स्थानीयहरूका अनुसार सर्पदंश जस्ता आकस्मिक घटनाका लागि उपयुक्त स्वास्थ्य संरचना र पूर्व तयारीको अभावले धेरैजसो बिरामीले उपचारकै अभावमा ज्यान गुमाउने गरेका छन् ।




