बारा । बारा र रौतहट जिल्लामा विद्युत सर्टका कारण भएका दुई छुट्टाछुट्टै आगलागीका घटनामा झन्डै ९१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बारा जिल्लाको परवानीपुर गाउँपालिका ५ सानो नौतनस्थित पार्किङमा राखिएको यात्रुबाहक बसमा गएराति आगलागी भएको हो ।
ना ६ ख ४९८१ नम्बरको सो बसमा ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा बस पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त घटनामा बसधनीलाई करिब ५१ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
त्यसैगरी, रौतहटको ईशनाथ नगरपालिका २ स्थित बनाना रिसोर्टमा शनिबार बिहान विद्युत सर्ट भएर आगलागी भएको छ । रिसोर्टको विभिन्न कोठा, फर्निचर, उपकरण र सामाग्री जलेर नष्ट हुँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
दुबै घटनामा मानवीय क्षति नभएको र प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालयहरूद्वारा जानकारी दिइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






