काठमाडौं । भ्रष्टाचार निवारण ऐन अन्तर्गत डम्मर बहादुर बुढाथोकीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
नेपाल सरकार विरुद्ध खरिदार रतन बहादुर जि.सी.लगायतको घुस/रिसवत सम्बन्धी मुद्दा नं. ०८१-CR-०१२६ मा सरकारी साक्षीका रूपमा अदालतमा पेश गरिएका कोहलपुर नगरपालिका, बाँकेका डम्मर बहादुर बुढाथोकीले अदालतमा प्रतिकूल बयान दिएको उजुरीका आधारमा गरिएको अनुसन्धानपछि भ्रष्टाचारमा संलग्न भएको पुष्टि भएको हो ।
बुढाथोकीले सोही मुद्दाका प्रतिवादीहरू- बिचौलिया शान्ति पुन र खरिदारहरू रतन बहादुर जि.सी., हरिचन्द्र पाण्डे तथा घनश्याम तिवारीलाई मिलेमतोमा जग्गाको मोठ भिडाउन सहयोग गरिदिने सर्तमा नगद रू. २०,००० घुस दिएको खुलेको छ ।
उनले अनुसन्धान अधिकृतसमक्ष दिएको बयान विपरीत विशेष अदालतमा मिति २०८२ साउन २६ गते प्रतिकूल बकपत्र दिएका थिए । यसैलाई आधार मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम कसूर पुष्टि गर्दै बुढाथोकीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
बुढाथोकीले दिएको २० हजार रुपैयाँ घुस जफत गर्न माग गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार बिगो बराबरको जरिवाना र कैद सजायको मागसमेत गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।






