काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादव र सिद्धार्थनगर नगरपालिका ९ का विपिन कुमार पाण्डेयविरुद्ध तीन लाख रुपैयाँ घुससहित पक्राउ परेपछि भ्रष्टाचार मुद्दा विशेष अदालत, काठमाडौंमा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयबाट खटिएको टोलीले भदौ १८ गते वडा अध्यक्ष यादव र श्री गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन पाण्डेयलाई नगद रु. तीन लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा पत्ता लागे अनुसार, मर्चवारी गाउँपालिका वडा नं. ३ अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालित योजनाहरू- “सिसु सेमरा दक्षिण धोबहिया छठ घाट निर्माण”, “पुर्निकोट गाउँभित्र सडक पीसीसी ढलान” र “सुरहवाँ गाउँभित्र सडक पीसीसी ढलान” का भुक्तानी सिफारिसका लागि वडा अध्यक्ष यादवले सेवाग्राहीसँग रु. ३ लाख घुस माग गरेका थिए ।
उक्त रकम लिन अध्यक्ष यादवले विपिन कुमार पाण्डेलाई खटाएका थिए, जसले सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानबाट यादव र पाण्डेबीचको मिलेमतो र घुस कारोबार पुष्टि भएपछि उनीहरू दुवैजनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
अध्यक्ष यादवमाथि ऐन अनुसार सजाय माग
अध्यक्ष यादवमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय र बिगो बराबर जरिवानाको मागदाबी गरिएको छ । यससँगै तीन लाख रुपैयाँ बिगो कायम गरिएको छ ।
पाण्डे ‘मतियार’ ठहर, मुख्य कसुरदार सरह सजाय माग
वडा अध्यक्षको निर्देशनमा सेवाग्राहीबाट घुस लिएका विपिन पाण्डेयमाथि ऐनको दफा २२ अनुसार मतियारको रूपमा भ्रष्टाचारमा संलग्न भएको आरोप छ । आयोगले उनलाई मुख्य कसुरदार सरह सजाय दिन माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।






