सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका ८ मलहनमा जेठ २३ गते राति १ बजे लुटपाट गर्दै ६५ वर्षीय कन्तलाल चौधरीको गोली हानी हत्या गर्ने गिरोहका ९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न ६ जना डाँकाहरू र लुटिएको सुनचाँदी किनबेचमा संलग्न थप ३ जनालाई पक्राउ गरेको हो ।
मृतक चौधरीको घरमा राति डाँकाहरू पसेर लुटपाट गर्ने क्रममा उनलाई चिनेको आशंकामा गोली प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतककी श्रीमती लराई देवीका अनुसार उनका श्रीमान्ले डाँकाहरूलाई चिनेपछि डाँकाहरूले गोली हानेर हत्या गरेका थिए ।
घटनापछि प्रहरीले विशेष सुराकीका आधारमा लुटपाटमा संलग्न सुरुङ्गा ८ का २७ वर्षीय राजेश कुमार मरिक, २८ वर्षीय सञ्जय मरिक, बोदेबसाईन २ का २० वर्षीय दिपेन मरिक, खडक ११ का ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ ८ का २४ वर्षीय दिपक मरिक र उदयपुरको बेलका १ का २८ वर्षीय चन्दर मरिकलाई पक्राउ गरेको हो ।
त्यस्तै, चोरी गरिएका सुनचाँदीका गरगहना संकलन गरी गलाई बेच्ने सुरुङ्गा ७ पोखरिया बसनपट्टीका ३३ वर्षीय राजु कुमार विश्वकर्मा, लहान ७ स्थित श्रधा सुनचाँदी गलाई सेन्टरका सञ्चालक ५२ वर्षीय महेन्द्र गोड्से र ओम ज्वेलर्स लहान ८ का सञ्चालक ३८ वर्षीय उमेश साह सोनार पनि पक्राउ परेका छन् ।
प्रहरीले लुटपाटपछिको अनुसन्धानका क्रममा राजु विश्वकर्मालाई नियन्त्रणमा लिएपछि घटनामा संलग्न अन्यको नाम खुलेको जनाएको छ । विश्वकर्माको बयानका आधारमा पक्राउ परेका व्यक्तिहरूले सुनचाँदीका गहना बेचेको स्वीकार गरेका छन् । प्रहरीले उनीहरूबाट चाँदीको बाला, बलिया, कटुवा पेस्तोल, दुई राउण्ड गोली र खुकुरी बरामद गरेको छ ।
बरामद गरगहनाहरू मृतकका श्रीमती लराई देवी र छोरा नन्दकिशोर चौधरीले पहिचान गरेका छन् । हाल घटनालाई डकैती र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरी पक्राउ परेकामाथि सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




