काठमाडौं । गिरिजा प्रसाद कोइरालाले एकदिन ऋषि धमलालाई भनेका थिए – ‘मान्छेले आलोचना गरे भनेर कहिले पनि नडराउनु, नआत्तिनु । मान्छेको जीवनमा आलोचना स्वभाविक हो । जुन पेसामा तिमी छौ, त्यहाँ आलोचना, गाली र ताली सबै हुन्छन्, यिनको सामना गर्नुपर्छ ।’
सायद पूर्व प्रधानमन्त्री कोइरालाकै प्रभाव हुन सक्छ, पत्रकार धमला गाली, नकारात्मक टिप्पणी, आलोचना सबै चुपचाप सुन्छन्, सहन्छन् । न प्रतिवाद गर्छन् न प्रतिक्रिया । संघर्षका दिनमा खरो आलोचना गर्ने, खुट्टा तान्नेहरु अझै पनि धमलाको विभिन्न कमजोर पक्षहरु कोट्याउँदै सामाजिक सञ्जालमा गिज्याउने, प्रहार गर्ने, उनको छवि गिराउन खोज्ने प्रयास गर्छन् तर धमला मौन रहन्छन् ।
एसएलसी पनि पास नभएको धमला कसरी पत्रकार बने ? यस्तो अनपढ पनि वरिष्ठ पत्रकार हुन्छ ? कार्यक्रम चलाउने ढंग पनि गतिलो छैन, पाहुनालाई बोल्नै दिँदैन । जे पायो त्यही प्रश्न सोधिएको हुन्छ, यस्तो पनि अन्तर्वार्ता हुन्छ ? यी यावत् प्रसंग कोट्याएर बदनाम गराउने आलोचकको समेत उनी सम्मान गर्छन् । आलोचनाले उनको नम्रतामा कमि आउँदैन । उनको परिश्रम, खटाइ र लगावमा परिवर्तन आउँदैन । उनी सधैँ खुशी र ऊर्जावान् रूपमा प्रस्तुत हुन्छन्, बिहानदेखि साँझसम्मका कार्यक्रममा । आफ्नो कट्टर आलोचकसँग समेत उनले भाइचारा व्यवहार गर्छन्, सम्मान र प्रशंसा गर्छन् उनीहरूको । ताली दिउन या गाली दिउन्, सबैलाई मित्रवत व्यवहार गर्छन् धमला ।
पत्रकार हुन् त धमलाजस्तो, भन्नेहरू पनि प्रशस्तै छन् । उनको संघर्ष बुझ्नेहरूले तारिफ गर्छन् । के के संघर्ष गरेर धमलाले यो उचाइ प्राप्त गरे त जीवनमा ? धेरैलाई चासो हुन सक्छ !
पत्रकार धमलाको जन्म २०३२ साल कार्तिक ७ गते धादिङको ज्याम्रुङमा भएको हो । पिता कुलप्रसाद धमला र माता चेतकुमारी धमलाको चार सन्तानमध्येका उनी कान्छो छोरा हुन् । उनका एक बहिनी र दुई दाजु छन् । उनका पिता ब्रिटिस आर्मीमा थिए । उनले जागिर छोडेर आएपछि ४५ वर्षको उमेरमा १५ वर्षकि महिलासँग विवाह गरेका थिए । उनका पीताले गाउँमा सामाजिक काममा धेरै सहयोग गरेको धमला बताउने गर्छन् । आर्मीको जागिरबाट रिटायर्ड भएपछि कुलप्रसादले गाउँमै खेतीपाती गरे, उनी निकै जाँगरिला थिए ।
ऋषिकि आमाको भने उनी ८ वर्षको हुँदा निधन भएको थियो । उनले सानै उमेरमा नै आमा गुमाए, बुवाको छत्रछायाँमा हुर्किए । बाल्यकालमा उनले निकै संघर्ष झेले । खेतबारीदेखि लिएर भान्साको कामसम्म भ्याउँथे ।
उनको गाउँमा निमावि तहको मात्रै विद्यालय थियो । धमलाले त्यहाँ पाँच कक्षासम्म अध्ययन गरे । पाँच कक्षाको अध्ययन सकिएपछि भने उनी कहाँ पढ्ने भनेर भौँतारिन थाले । सोच्दै गर्दा त्यहीबेला काठमाडौं आएर पढ्ने योजना उनको दिमागमा फुर्यो । बुवाले धेरै माया गर्ने, आफूबाट टाढा राख्न नचाहने भएका कारण उनी घरमा थाहै नदिइ छिमेकी एक दाजुसँग काठमाडौं आए । हिँड्ने बेला उनले बुवाको कन्तुरबाट केहि रकम चोरेका थिए, बुवा खेतबारीमा गएको मौका पारेर ।
त्यतिबेला धादिङदेखि काठमाडौंसम्म यातायात सुविधा थिएन । उनीहरू त्यहाँबाट मलेखुसम्म हिँडेर आइपुगे र त्यहाँबाट ट्रक चढेर २ बजे राति काठमाडौंंको धरहरा ओर्लिए र दुवै आ–आफ्नो आफन्तकोमा लागे । मावली पुगेर संस्कृत पाठशाला रानीपोखरीमा पढ्न थाले । पढ्न सुरु गरेको करिब ६ महिनापछि छोरो काठमाडौं छ भन्ने थाहा पाएर उनका पीता छोरो लिन काठमाडौं आए र धादिङ लिएर गए । उनी घर फर्किँदा उनले पढेको स्कुलमा सात सम्मको पढाइ सुरु भएको थाहा पाएपछि उनले सात कक्षासम्म त्यहीँ पढे । त्यसपछि भने बुवालाई अनुरोध गरेर उनी पुनः काठमाडौं आए ।
कालिमाटीमा कोठा लिएर जनप्रभात माध्यमिक विद्यालयमा ८ कक्षामा भर्ना भए । काम गरेर पढे । उनी पढ्दै गर्दा जनआन्दोलनको तयारी सुरु भयो, २०४६ सालमा । जनआन्दोलनको तयारी भइरहँदा त्यतिबेला पत्रिका निकाल्नुपर्छ भन्ने उनको टिम थियो । त्यतिबेला उनी १४ वर्षका थिए, अरु सँगसँगै उनी पनि आन्दोलनको तयारीमा लागे । बिहान र बेलुका समालोचना दैनिकमा काम गर्थे र दिउँसो स्कुल पढ्थे । समाचार लेख्नेदेखि रिपोर्टिङसम्मको काम उनले गर्थे । उनको पहिलो रिपोर्टिङ गणेशमान सिंहको घरबाट सुरु भएको थियो । नेता सिंहको घरमा २०४६ साल माघ ५, ६ र ७ गते बैठक भएको थियो, प्रजातन्त्र स्थापनाको विषयमा । उक्त बैठकमा गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी, कृष्ण प्रसाद भट्टराई, सहाना प्रधान लगायत केही भारतीय नेताहरु पनि सहभागी थिए ।
उक्त रिपोर्टिङ पत्रिकामा छापिएपछि पत्रिका बोकेर हिँडिरहेका उनलाई भृकुटीमण्डपबाट प्रहरीले आन्दोलनकारी भनेर सात दिन हिरासतमा राख्यो । उनका मामाले छुटाउन खोजेका थिए तर उनले मानेनन् । रिहा भएपछि पुनः उही पत्रिकामा जोडिए, पछि त्यो पत्रिका पपुलर भयो ।
२०४६ सालको जनआन्दोलन सफल भएपछि उनले विभिन्न विद्यालयमा गएर आन्दोलन गर्थे, त्यतिबेला उनलाई १८० वटा स्कुलको संयोजक बनाइएको थियो । आन्दोलन सफल भएपछि उनी पढाइतिरै फर्किए, प्रभातबाट एसएलसी दिए । एसएलसीको अध्ययन पुरा भएपछि उनले दृष्टि पत्रिकामा काम गरे । त्यतिबेला उनको सबै नेतासँग भेटघाट हुन्थ्यो ।
पत्रकारिताकै क्रममा एक दिन मदन भण्डारीले जीवन मानन्धरको घरमा बोलाए । प्रत्येक भेटमा नेता भण्डारीले राम्रोसँग पढ्न र भविष्यमा राम्रो वक्ता बन्न धमलालाई सुझाउँथे, हौसला दिन्थे । कलेज भएपछि उनले दृष्टि पत्रिका छोडेर नयाँ पुस्ता नामको पत्रिकामा जोडियो, जुन त्यतिबेला पपुलर थियो ।
पत्रिकामा काम गर्दा कृष्णप्रसाद भट्टराईको अन्तर्वार्ता लिन उनलाई अह्राइयो, त्यतिबेला उनी प्रधानमन्त्री थिए । प्रदिप गिरीले बाल पत्रकारको रुपमा उनलाई बालुवाटार लिएर गए । उनी पुग्दा कृष्णप्रसाद भट्टराई बिहान गिता पाठ गरिरहेका थिए । अन्तर्वार्ता लिने भनेपछि उनले प्रश्नहरु लेखेर दिन अनुरोध गरे । धमलाले ८ वटा जति प्रश्न तयार पारेर दिए । प्रश्न हेरेपछि उनी अन्तर्वार्ता दिन तयार भए ।
मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, मदन भण्डारी सबैले उनलाई धेरै माया गर्थे । ‘कहिलेकाहीँ दृष्टि पत्रिकामा आउँदा नेता भण्डारीले मःम खुवाउन लैजानुहुन्थ्यो ।’ गिरिजा प्रसाद कोइरालाले पनि उनलाई धेरै माया गर्थे । कहिले त तिम्रो लागि सूचना छ भन्दै बिहान साढे तीन, चार बजे घरमा बोलाउँथे । उनी पुगेकै हुन्थे ।
प्रचण्ड सार्वजनिक हुँदा उनको पहिलो अन्तर्वार्ता लिने धमला थिए, राति दुई बजे उनी बसेको होटलमा गएर । सुजाताको पहिलो अन्तर्वार्ता लिने पत्रकार पनि धमला नै थिए । ०४६ सालको आन्दोलनमा जोडिएपछि धेरै नेताहरुसँग उनको निकटता बढेको थियो ।
‘म सबै नेताहरु खराब छन् भन्न सक्दिन । धेरै नेताहरुले देशको परिवर्तन र सुशासनका लागि योगदान दिनुभएको । वीपी कोइरालाले मान्छे ठूलो होइन असल बन्नुपर्छ भन्नुहुन्थ्यो । मदन भण्डारी, गणेशमान सिंह लगायत सबै नेताहरुले देशको लागि योगदान गर्नुभएको छ ।’
उनलाई गिरिजा प्रसाद कोइरालाले राजनीतिमा ल्याउन जोड गरेका थिए । ‘२०६२, ६३ सालको जनआन्दोलन सफल भइसकेपछि संविधान सभाको निर्वाचन भयो । त्यो निर्वाचनमा लड्न प्रस्ताव गर्नुभएको थियो तर मैले मानिनँ । सांसद बन भन्नुभयो म त्यो पनि मानिनँ । अहिले मलाई के लाग्छ भने त्यतिबेला गिरिजा प्रसाद कोइरालाको कुरा मानेर मैले राजनीतिमा गएको भए मैले राजनीतिमार्फत् देशमा आमुल परिवर्तन ल्याउन सक्थेँ, देशका लागि अझै ठुलो योगदान दिन सक्थेँ कि भन्ने लाग्छ !’
गिरिजासँग उनले १७ वर्ष निकट भएर काम गरे । गिरिजासँग उनले १७ वर्ष निकट भएर काम गरे । धमलालाई गाडीमा हालेर सँगसँगै लिएर हिँड्थे गिरिजा । उनले काजु किनेर खुवाउँथे । ‘म एकदमै दुब्लो थिएँ त्यतिखेर । गिरिजा प्रसाद कोइरालाले एकदिन गाडी रोकेर, आफैँले काजु किनेर मलाई खान दिनुभएको थियो, त्यो दिन मलाई अझै पनि याद आउँछ’, ऋषि सम्झन्छन् ।
व्यस्त जीवनशैलीका कारण धमला विवाह गर्न चाहँदैन थे । ‘म धेरै व्यस्त मान्छे, १८ देखि २० घण्टासम्म काम गर्छु । विवाह गरेपछि गाह्रो हुन्छ । मैले समय दिन व्यवस्थापन गर्न सक्दिन’ भन्ने उनलाई लाग्थ्यो । उनको बुवाको भने बुवारी भित्र्याउने इच्छा थियो । ‘बुहारी भित्र्याउने मेरो बुवाको ठुलो चाहना थियो । बुवाले बाँचुन्जेल मलाई घरमा बोलाउनुहुन्थ्यो, काठमाडौं आउनुहुन्थ्यो । म दाइभाउजु कहाँ बस्थेँ । विवाह गर्नुपर्छ भनेर धेरै दबाब दिनुहुन्थ्यो तर म विवाह नै नगर्ने पक्षमा थिएँ ।’
उनले धेरै युवतीको प्रेम प्रस्ताव समेत अस्वीकार गर्दै आएका थिए । एक दिन एक कार्यक्रममा राप्रपाकी केन्द्रिय सदस्य गीता गौतम छोरी एलिजाका साथमा आएकी थिइन् । त्यतिबेला पनि उनको विवाहको कुरा चल्यो, ऋिषिलाई एलिजा भने मन पर्यो । ‘मेरो प्रेमको सुरुवात नै एलिजासँग भएको थियो, पछि हामीले मागि विवाह गर्यौँ’ उनले भने ।
पत्रकार धमला बिहान ४ बजेदेखि राति ११ बजेसम्म काममै व्यस्त हुन्छन् । यति सम्मकि उनले आफ्नो विवाहको दिनमा समेत आफूले सञ्चालन गर्ने कार्यक्रम बन्द गरेनन् । पत्रकारितामा जोडिएदेखि आफूले एकदिन पनि बिदा नलिएको उनी बताउँछन् । उनले एकदिन पनि कार्यक्रम गर्न छुटाएका छैनन्, विदेश गएका बेला पनि उनी उतैबाट रेडियोमा लाइभ गर्छन् ।
मेहनतले नै मानिसलाई सफल बनाउने उनको मान्यता छ । नाम कमाउन सजिलो हुने तर बचाउन अथवा त्यही उचाइमा रहन धेरै गाह्रो हुने उनको भनाइ छ । ४५ वर्षीय धमलाले पत्रकारितामा ३० वर्ष बिताएका छन् । आफ्नो उचाइ अहिले पनि नघटेको उनी बताउँछन् । ‘आफ्नो बखान मान्छेले कहिले पनि आफैँले गर्नुहुँदैन । प्रशंसा त अरुले गर्ने हो । महत्वकांक्षा राख्नुपर्छ तर अहमता र घमण्ड राख्नु हुँदैन । मान्छे सरल र सहयोगी बन्नुपर्छ’, उनी भन्छन् ।




