सिराहा । सिरहा नगरपालिका ९ स्थित गुलरिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले सोही नगरपालिका २२ का ३२ वर्षीय रोशन कुमार यादवलाई १ ग्राम २६ मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा चलाइएको चेकजाँचका क्रममा यादवलाई शंका लागी खानतलासी गर्दा उक्त लागूऔषध फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा यादव लागूऔषध ओसारपसार तथा सेवनमा संलग्न रहेको आशंका गरिएको छ ।
प्रहरीले पक्राउ परेका यादवमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । साथै घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




