सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले १ लाख घुससहित पक्राउ परेका सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको काम सकेपछि भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए । आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले मेयर साहलाई सेवाग्राहीबाट एक लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।
आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले गत असारमा उनलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । मेयर साहले घुस मागेको पुष्टि भएपछि शुक्रबार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख रुपैयाँ कायम गरी, सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) अनुसार कैद सजाय र दफा ३ को उपदफा (१) अनुसार बिगो बराबरको जरिवाना माग दाबी गर्दै आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ । साह नेकपा (एमाले) बाट निर्वाचित मेयर हुन् ।






