सर्लाही । सर्लाही र बारामा प्रहरीले बिहिबार छुट्टाछुट्टै कारबाही गरी ठूलो परिमाणमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ का ४५ वर्षीय रूपेश साह र उनकी श्रीमती ३५ वर्षीया प्रतिमा कुमारी साहलाई प्रहरीले २० किलो ३४० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनको घरमा तलासी गर्दा उक्त गाँजा फेला पारी दम्पतीलाई नियन्त्रणमा लिएको हो । यस्तै बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ बाट ११ ग्राम १० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २३ वर्षीय सुरज प्रसाद सोनारलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका ८ बस्ने सोनारलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध सम्बन्धी कानूनी कारबाही अघि बढाइएको जनाएको छ ।




