रौतहट । गौर–सिर्सिया–गंगापिपरा सडकखण्ड अन्तर्गत मुडबलवा मोड नजिक शनिबार राति सुटकेसभित्र फेला परेको शव २६ वर्षीया रुबीकुमारी साहको भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार मृतक साह हाल गौर नगरपालिका २ महादेवपट्टीस्थित डेरामा आमासँगै बस्दै आएकी थिइन् । उनको स्थायी घर माधवनारायण नगरपालिका ६ माधोपुर हो ।
रुबीका पति शिवसागर साह (बासिन्दा– भारतको बिहार राज्य, मुज्जफरपुर जिल्ला, रक्साटोल) ले शवको सनाखत गरेका हुन् । डीएसपी कार्कीका अनुसार हिजो साँझ रुबी “व्युटी पार्लर जान्छु” भन्दै घरबाट निस्किएकी थिइन् ।
त्यसपछि सम्पर्कविहीन बनेकी उनी राति करिब साढे १० बजे गौर नगरपालिका ९ स्थित मुडबलवा मोड नजिक सडक किनारमा डोरीले बाँधिएको सुटकेसभित्र मृत अवस्थामा फेला परेकी हुन् ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतकको नाकबाट रगत बगेको देखिएको छ तर शरीरमा ठूलो चोट पटक भने भेटिएको छैन । घटना बारे थप सत्यतथ्य पत्ता लगाउन शवलाई प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।
मृतक साहको चार वर्षको छोरा रहेका छन् । यस घटना बारे अनुसन्धानमा परिवारजनले समेत सहयोग गरिरहेको प्रहरीको भनाइ छ । हिन्दी चलचित्र सरह सुटकेसमा शव फेला परेको यो घटनापछि गौर आसपासका महिलामा त्रास फैलिएको स्थानीयले बताएका छन् ।




