रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ । प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि कीर्तिपुर स्थित बर्न सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीले जानकारी दिए ।
आत्मदाहको प्रयासपछि पक्राउ
प्रहरीका अनुसार माधवनारायण नगरपालिका ६ माधोपुर पछाडिको आँपको बगैंचामा पासवान आफैंले डिजेल खन्याई शरीरमा आगो लगाएका थिए । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उद्धार गरी तुरुन्तै अस्पताल पुर्याएको थियो । प्रहरी स्रोतका अनुसार उनको टाउकोसहित शरीरको धेरै भाग जलेको छ र बोल्नसमेत गाह्रो भएको छ ।
हत्या प्रकरणको पृष्ठभूमि
गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक २६ वर्षीया रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो । सुटकेस डोरीले बाँधिएको अवस्थामा भेटिएकोले यसलाई योजनाबद्ध हत्या ठानिएको थियो ।
अनुसन्धानबाट प्रारम्भिक रूपमा खुलेको तथ्यअनुसार, पासवानले गौरस्थित डेरामा रुबीको हत्या गरी शव सुटकेसमा राखेर इ-रिक्सामा लैजान खोजेका थिए । तर, रिक्सामा समस्या आएपछि सुटकेस त्यही छाडेर भागेका थिए ।
प्रहरीले अनुसन्धानका क्रममा ५०० रुपैयाँ भाडामा संलग्न रिक्सा चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पासवानमाथि शंका पुष्टि भएको हो ।
रुबी र पासवानबीचको सम्बन्ध
प्रहरीका अनुसार लक्ष्मण पासवान रुबी प्रति अत्यधिक आसक्त थिए । उनले आफ्नो हात, छाती लगायत शरीरका विभिन्न भागमा ‘रुबि कुमारी’ लेखिएका ट्याटु खोपेका थिए । प्रहरीले यसलाई प्रेम प्रेरित हत्याको रुपमा लिएको छ ।
रुबी साहको पारिवारिक पृष्ठभूमि
रुबि साह हाल गौर २, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन् ।
स्थायी ठेगाना : माधवनारायण ६, मधोपुर
आमा : सुनिच्छा देवी
वैवाहिक स्थिति : भारत, बिहार, मुजफ्फरपुरका शिवकुमार साहसँग करिब १३ वर्षअघि विवाह
सन्तान : ४ वर्षीय एक छोरा
पारिवारिक विवादका कारण केही महिना यता रुबी गौरमै भाडाको कोठामा बस्दै आएकी थिइन् । यो घटनाले रौतहटमा मात्र होइन, सम्पूर्ण तराईमा महिला हिंसा सम्बन्धी गम्भीर प्रश्न उठाएको छ । पारिवारिक–वैवाहिक सम्बन्ध जटिल हुँदा महिलामाथि हुने हिंसाका घटना बढ्दै गएका देखिन्छन् ।
यस प्रकरणले सुरक्षा, सामाजिक सोच र न्याय प्रणाली बारे पनि प्रश्न खडा गरेको छ । प्रहरीले मुख्य आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाए पनि घटना किन र कसरी भयो भन्ने सम्पूर्ण पृष्ठभूमि अझै स्पष्ट हुन बाँकी छ ।




