सोलुखुम्बु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहितका प्रतिवादीविरुद्ध पुनरावेदन सर्वोच्च अदालतमा दायर गरेको छ ।
आयोगका अनुसार सोलुखुम्बु जिल्लाको साविक जुभिङ गा.वि.स. ५ मा रहेको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराइएको मुद्दामा प्रतिवादीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ज) र दफा ११ बमोजिमको कसूर गरेको ठहर गर्दै बिगो ६ लाख १८ हजार रुपैयाँ कायम गरिएको थियो ।
आयोगले उनीहरूलाई कैद, बिगो बराबर जरिवाना र बिगो असुलको सजाय मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो । तर विशेष अदालतले २०८१ साल कार्तिक २६ गते प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको थियो ।
उक्त फैसला प्रति असन्तुष्टि जनाउँदै अख्तियारले २०८२ साल भदौ १५ गते सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो । आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले सर्वोच्च अदालतले विशेष अदालतको फैसलामाथि अन्तिम टुंगो लगाउने विश्वास व्यक्त गरेका छन् ।






