रूपन्देही । रूपन्देही जिल्लामा आइतबार राति र साँझ भएका छुट्टाछुट्टै बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एक युवकसहित दुई जनाको मृत्यु भएको हो ।
बुटवल उपमहानगरपालिका १० औद्योगिक क्षेत्र अगाडि सडकमा लु १ ख ९२७२ नम्बरको बसले ठक्कर दिँदा तिलोत्तमा नगरपालिका १० बेहोरा बस्ने ५८ वर्षीय लाल बहादुर हरिजनको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सैनामैना नगरपालिका १० फायरलाइनस्थित सडकमा लु २ ख ६७६१ नम्बरको बसले लु २९ प ६५४६ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको थियो । दुर्घटनामा अर्घाखाँचीको सितगंगा नगरपालिका १ बस्ने १९ वर्षीय सुवाश बुढाथोकी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि बुटवलको साझा हस्पिटल लगिएको भएपनि उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






