अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ४ पातलेपोखरामा ३४ वर्षीया सुमित्रा कुमाल गुरुङको हत्या गरी शव भान्छा कोठामा गाडेको खुलासा भएको छ । घटनामा संलग्न उनका श्रीमान ३६ वर्षीय किरण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्यूठानको नौबहिनी गाउँपालिका १ स्याउलीबाङ घर भएका किरण विगत आठ वर्षदेखि पातलेपोखरामा बस्दै आएका थिए । उनी आफ्नी श्रीमती सुमित्रा र ९ वर्षीया छोरीसँग बस्दै आएका थिए । केही दिनदेखि सुमित्रा बेपत्ता भएपछि माइती पक्षले १६ भदौमा प्रहरी चौकी बाल्कोटमा खोजीको जानकारी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्र मल्लका अनुसार प्रारम्भिक अनुसन्धानमा १२ भदौ राति १२ बजे पति–पत्नीबीच विवाद भएपछि हत्या गरिएको पुष्टि भएको छ । किरणले बाँसको भाँटा र हंसियाको प्रयोग गरी श्रीमतीको हत्या गरेका थिए ।
हत्यापछि शवलाई कम्बलमा पोको पारेर आफ्नै घरको भान्छा कोठामा खाल्डो खनेर गाडिएको थियो । घटनास्थलबाट हत्या गर्न प्रयोग भएका बाँसको लाठ्ठी, हंसिया, गैंची, बेल्चा, सानो कोदालो लगायतका सामाग्री बरामद गरिएको छ ।
प्रहरीका अनुसार ‘ओरेन्ज’ लेखेको मदिराको खाली र भरी बोत्तल पनि घटनामा प्रयोग भएको प्रमाणसहित फेला परेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ ।
अनुसन्धानका क्रममा किरण र सुमित्रा विगत १० वर्षदेखि प्रेम सम्बन्धमा रहेको, दुवैको दोस्रो विवाह भएको र किरणको पूर्वश्रीमतीबाट दुई छोरी तथा सुमित्राको पूर्वश्रीमान्बाट तीन छोरी रहेको पुष्टि भएको छ ।
घटना पूर्व किरण गाउँमै भजनकृत्य कार्यक्रममा सहभागी भएका थिए र राति साढे ११ बजे घर फर्केका थिए । प्रहरीले हत्या गर्नुअघि उनी मादक पदार्थ सेवनमा रहेको पत्ता लगाएको छ ।
९ वर्षीया छोरीलाई पनि धम्की दिइएकोले घटना बाहिर नआएको अधिकारीले बताए । पक्राउ परेका किरणविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।






