काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सुरु गर्दै शहरवासीलाई ठूलो आवाज हुने गतिविधि नगर्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार विभिन्न मानवीय क्रियाकलापका कारण हुने ध्वनी प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले विशेष गरी गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर गर्ने बताइएको छ ।
साथै ध्वनी प्रदूषणले सर्वसाधारणको सामाजिक, आर्थिक क्रियाकलाप, नैतिक मूल्य मान्यता र आपसी सम्बन्धमा समेत प्रतिकूल असर पार्ने हुँदा ध्वनी, धुवाँ र फोहोरमुक्त छिमेकी अभियान थालनी गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
अभियान अन्तर्गत राति फोन गर्दा आवाज कम गर्ने वा हेडफोन प्रयोग गर्ने, लामो समय ठुलो स्वरमा गफ नगर्ने, पार्टी वा जमघट गर्दा छिमेकीलाई असजिलो नहुने गरी गर्ने, अबेरसम्म म्युजिक बजाएर नाचगान नगर्ने, टेलिभिजन वा म्युजिक सिस्टम खोलेर सुत्ने नगर्ने, भान्सामा भाँडाकुडा ठोकाठोक नगर्ने, राति ढकढकाउने वा बेल बजाउने नगर्ने जस्ता व्यवहार अपनाउन अपिल गरिएको छ ।
त्यस्तै, बिहान अनावश्यक खोक्ने–खकार्ने नगर्न, मोटरसाइकल वा सवारी साधन बिहानै ठूलो आवाज निकाल्दै स्टार्ट नगर्न, शौचालय प्रयोग गर्दा ध्वनी कम गर्ने उपाय अपनाउन, राति वा बिहानै प्रेसर कुकरको सिठ्ठी बज्न नदिने, घरमै संगीत अभ्यास गर्दा ध्वनी नियन्त्रण उपकरण प्रयोग गर्ने र सडकमा अनावश्यक हल्ला नगर्न समेत आग्रह गरिएको छ ।
प्रहरीले सामाजिक तथा धार्मिक क्रियाकलापमा पनि ध्वनी नियन्त्रण गर्नुपर्ने बताएको छ । मन्दिर, गुम्बा वा मस्जिदमा पूजा–प्रार्थना गर्दा ध्वनी नियन्त्रण गर्ने, चुरोट वा फोहोर जलाएर छिमेकमा धुवाँ नफैलाउने, सडकमा जथाभावी फोहोर नफाल्ने, घर पालुवा जनावरबाट छिमेकीलाई असजिलो नहुने गरी ध्यान दिनुपर्ने र प्रेसर हर्न वा मोडिफाइ सवारी साधन प्रयोग नगर्न पनि अनुरोध गरिएको छ ।
यसबाहेक, ध्वनी प्रदूषण गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा ३५ को उपदफा (३) बमोजिम ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको प्रहरीले जानकारी दिएको छ ।
तर, प्रहरीले ‘बिहान’, ‘राति’ वा ‘अबेर’ भन्ने शब्द प्रयोग गरेर मात्र सूचना सार्वजनिक गरेकाले स्पष्ट समय सीमा तोकिएको छैन । यसले सर्वसाधारणमा अन्योलता सिर्जना गरेको र सबै प्रकारका बन्देजलाई व्यवहारमा उतार्दा चुनौतीपूर्ण हुने देखिएको छ ।







