काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ हजार रुपैयाँ घुससहित पक्राउ परेका एक करार कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत साउन २६ गते नापी कार्यालय काठमाडौं, कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
चन्द्रागिरी नगरपालिका १३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाइदिने भन्दै उनले १३ हजार रुपैयाँ घुस मागेको अभियोग छ । अख्तियारले नियन्त्रणमा लिएको क्रममा कलंकी नापी कार्यालयका प्रमुखको दुई थान मोबाइल, सर्भेक्षकको एक थान मोबाइल, कार्यालय सहयोगी कुँवरको एक थान मोबाइल र घुसबापत लिएको १३ हजार रुपैयाँ समेत बरामद गरिएको थियो ।
कार्यालय सहयोगीको घुस प्रकरणमा कार्यालय प्रमुख केशव लेखकसम्म संलग्नता रहेको आशंका गरिएको र त्यसै कारण उनको मोबाइल पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । चार साता लामो अनुसन्धानपछि अख्तियारले कुँवरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसूर देखिएको भन्दै बिगो १३ हजार कायम गरी कैद सजायसहित सोही रकम बराबरको जरिवानाको माग राख्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।






