काठमाडौं । ललितपुरको भैंसैपाटीमा नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौैडेल र अर्थमन्त्री विष्णु पौडेल छिमेकी हुन् । घरसँगै नजोडिएपनि आसपास नै छन् । मंगलबार जेनजी आन्दोलनकारीहरुले भैंसेपाटीको प्रहरी कार्यालयमा आगजनीपछि विष्णु पौडेलको घरतिर मोडिए । उनको घरमा तोडफोड र आगजनी गरे ।
मुख्य निशानामा रहेका पौडेलको घर क्षणभरमै दनदनी बलेको प्रत्यक्षदर्शीहरु बताउँछन् । उक्त घर जलिसक्दासम्म गर्भनर पौडेलको घर सुरक्षित थियो । उनको घर जोगाउन छिमेकीहरुले अधिकतम प्रयास गरे । जब आन्दोलनकारी घरमा छिरे पौडेलको फोटो भेटाए अनि तोडफोडमा उत्रिए । धमाधम सामान निकालेर आगो लगाउन थालेको स्थानीयले बताए ।
छिमेकीहरु भेला भएर ‘उहाँ सोझो र निष्ठावान हुनुहुन्छ । उहाँ भ्रष्ट होइन, छाडिदिनुहोस’ भन्दाभन्दै पनि आगो दन्काएको स्थानीय एक छिमेकीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने । उक्त घर दनदनी आगो बलिरहेको भिडियो सामाजिक संजालमार्फत पोष्ट गर्दै घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
उनले लेखेका छन्,‘यो चाहिँ मेरो भैसेपाटीको घर जल्दै गरेको भिडियो हो । मैंले योजना आयोगको उपाध्यक्ष हुनु अघि नै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको घर हो । श्रीमती र मेरी नौं वर्षकी छोरीलाई यो घर धेरै मनपर्ने भएकोले गभर्नर भएपछि पनि यहि बस्थ्यौ । गाडि पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरुको पहिलो खेपको कमेन्ट आएको थियो ।
भित्र यसको बनावट सुन्दर थियो । माथिल्लो तल्लामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, बिभिन्न देशमा जादा किनेर ल्याएका कलाकृति थिए । देवि देवताका मुर्ती, भियतनामि सिल्क पेन्टिङ देखि लिएर माओत्सेतुङ सम्मका मुर्ति थिए । जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहि थियो । छोरीको अत्यन्त मनपर्ने कोठा पनि त्यहि थियो ।
अस्ति यो घर जल्नु दुइ घन्टा अघिनै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो । मले बुझ्दा घरमा केहि भएको थिएन । पछि भने घर भित्र मानिस गए । बा आमाको फोटो, मेरी छोरीको सानो छदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए । छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस भनेर च्यापेर सुत्न दिन्थ्यौँ । त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए ।
राती मेरी छोरी र श्रीमती नजिकको यौटा घर गएर सुते । म परको अर्को ठाउँमा । मेरा साथिहरुलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधै चाडै घर आउछु र कतै डिनर खाने गर्दिन । त्यो दिन हामि सबै ‘शरणार्थी’ भयौँ । किताब र कपडाहरु धेरै भएकोले ढिलोसम्म नै घर जलिरह्यो । राति पनि केहि व्यक्तिले आएर बेला बेलामा ढुँगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरुले सुनाए ।
धेरै साथीहरुले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु । हिजो राति मभन्दा पनि पिडामा परेका व्यक्तिहरुको बारेमा पढेँ । त्यसैले सबैलाई सुचना होस भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु । अब यस बारेमा अरु छलफल के नै गर्नुपर्ला र । नयाँ सरकार बन्दै छ । कसैलाई मैले दुइ पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ । यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ ।’






