धरान । धरानको भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्न पसेका चार जनाको आगलागीका कारण जलेर मृत्यु भएको खुलेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार उनीहरू सामान चोर्न भित्रिएका बेला अर्को समूहले अराजक ढंगले आगजनी गरेपछि घटनास्थलमै ज्यान गएको हो ।
प्रहरीले दिएको जानकारीअनुसार शवहरू पूर्ण रूपमा जलेको अवस्थामा फेला परेका छन्, जसमा शरीरको केही अंश मात्र सुरक्षित भेटिएको छ । आन्दोलनकै क्रममा बन्द अवस्थामा रहेको सुपरमार्केटको सटर तोडेर आगजनी गरिएको थियो । आगो तीव्र गतिमा फैलिँदा ती व्यक्तिहरू बाहिर निस्कन नसकेको प्रहरीको भनाइ छ ।
शुक्रबार बिहान दोस्रो तलामा एकजनाको शव भेटिएकोमा दिउँसो चौथो तलाबाट थप तीन जनाको जलेको शव फेला पारिएको हो । मृतकहरूको परिचय भने खुल्न बाँकी छ । यस घटनामा भाटभटेनी सुपरमार्केटले ठूलो भौतिक क्षति बेहोरेको छ । कोशी प्रदेशका बिर्तामोड, दमक, विराटनगर र धरानसहित हेटौंडा, पोखरा र भरतपुरका स्टोर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । उपत्यकाबाहिर मात्रै सात वटा स्टोर जलेर ध्वस्त भएका छन् ।
त्यस्तै, काठमाडौं उपत्यकामा बालुवाटारस्थित मुख्य गोदाम, टंगालको सबैभन्दा पुरानो शाखा, महाराजगञ्ज, कोटेश्वर र बौद्ध चुच्चेपाटीमा रहेका स्टोरहरू समेत पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । हालसम्म क्षतिको आर्थिक विवरण सार्वजनिक भएको छैन । भाटभटेनी सुपरमार्केटले देशभर ११ वटा स्टोर र मुख्य गोदाममा ठूलो क्षति पुगेको पुष्टि गरेको छ ।






