बाँके । जेनजी आन्दोलनको क्रममा प्रदेशका पूर्वमन्त्री र सांसदसमेत संलग्न भएर डुडुवा गाउँपालिकामा कुटपिट तथा तोडफोड गरिएको आरोप गाउँपालिकाले लगाएको छ । गाउँपालिकाका अनुसार, आन्दोलन रोकिए पनि भदौ २५–२६ गते राति करिब ८:१० बजे ८–१० जनाको समूह कार्यालयमा प्रवेश गरी तोडफोड र कागजातमा आगजनी गरेको थियो ।
दोस्रो दिन, २६ गते करिब ३०–३२ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयमाथि कुटपिट र दुर्व्यवहार गरेको गाउँपालिकाले जनाएको छ । पूर्वप्रदेश मन्त्री भण्डारीलाल यादव र पूर्वप्रदेश मन्त्री विजयबहादुर यादवको नेतृत्वमा उक्त समूहले कार्यालयमा जबरजस्ती प्रवेश गरी अधिकृतमाथि आक्रमण गरेको दाबी गरिएको छ ।
साथै समूहले कार्यालयको भान्सा कोठामा प्रवेश गरी बोरीभित्रको मदिरा बाहिर निकालेर सामाजिक सञ्जालमा फोटो तथा भिडिओ भाइरल बनाएको घटना प्रति पालिकाले गम्भीर ध्यानाकर्षण गरेको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरू पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोदकुमार तिवारी, सगिर खाँ र वडासदस्य राधेश्याम मौर्यसहित कार्यपालिकाका सदस्यहरूले विज्ञप्तिमार्फत यस घटनाको विरोध गर्दै अनावश्यक रूपमा पालिकालाई बदनाम गर्ने प्रयास भएको बताएका छन् ।
साथै, जनप्रतिनिधि र कर्मचारीले आफ्ना सुरक्षाको माग गर्दै यथाशीघ्र दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।






