धनुषा । धनुषामा सोमबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । धनुषाधाम नगरपालिका १ स्थित सडकमा प्र २–०२–००५ प ६४५० नम्बरको मोटरसाइकल र ज ११ प ४१५३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा हंसपुर नगरपालिका ९ बस्ने २० वर्षीय उदय रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका रायलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अर्को मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, गणेशमान चारनाथ नगरपालिका ६ गोदार चोकस्थित सडकमा प्र २–०१–००१ ख ०२६५ नम्बरको बस र प्र २–०२–००५ प ५७११ नम्बरको मोटरसाइकल ठोक्किँदा मिथिला नगरपालिका ८ जमुनिबास बस्ने ३० वर्षीय बैजु यादवको ज्यान गएको हो ।
गम्भीर घाइते भएका यादवलाई फुल कुमारी मेमोरियल अस्पताल कर्जनाहा, सिराहा पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।




