सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ७ भगवानपुरमा बुधबार दिउँसो एक लघुवित्त संस्था कर्मचारीमाथि लुटपाट भएको छ । सुर्योदय वोमी लघुवित्त संस्था लिमिटेड बयलबास शाखामा कार्यरत कर्मचारी रिन्टुकुमारी महतो गाउँमा महिला समूहबाट रकम संकलन गरी बा ४७ प ४५२७ नम्बरको स्कुटरमा शाखा फर्किने क्रममा लुटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले उनको साथबाट करिब दुई लाख ४९ हजार ७४० रुपैयाँ नगद लुटेर फरार भएका हुन् । घटनापछि इलाका प्रहरी कार्यालय केशरगन्जका प्रमुख प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । हाल घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




