मुगु । मुगुको सोरु गाउँपालिका भिइमा आयोजित फुटबल प्रतियोगिताको सुरुवातमै आपसी कुटाकुट हुँदा चार जना घाइते भएका छन् । बडादशैंको अवसरमा अलस्टार युवा क्लबद्वारा आयोजना गरिएको प्रतियोगिताको औपचारिक कार्यक्रमको सुरुमै झडप भएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।
सोरु गाउँपालिका–३ का पवन कार्की र उनका टिमले धारिलो हतियार प्रहार गर्दा प्रकाश धामी, प्रकाश कार्की, जीवन धामी र हिक्मतजङ्ग धामी गम्भीर घाइते भएका थिए । घाइतेमध्ये तीन जनालाई गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले हेलिकप्टरमार्फत उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पठाएको प्रजिअ खत्रीले बताए ।
घटना स्थलमा नभएका वडाध्यक्ष सिंहबहादुर धामीले घटनाबारे प्रत्यक्ष जानकारी नभएको उल्लेख गर्दै, “गत वर्षको पुरस्कार नदिएको विषयमा खेलाडीहरू रिसाएका रहेछन्, त्यसैले झडप भएको सुनेको छु,” भने । यता घटनाको मुचुल्का लिन सोरुबरमा प्रहरी चौकी इन्चार्ज देबबहादुर खड्काको टोली घटनास्थल पुगेको छ । इन्चार्ज खड्काले तत्काल यथार्थ विवरण दिन नसकिने बताए ।






