रूपन्देही । रूपन्देहीमा शुक्रबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई महिलाको ज्यान गएको छ । २८ र ३० वर्षीया दुई महिलाको दुर्घटनामा मृत्यु भएको हो ।
रोहिणी गाउँपालिका ४ छिपागढस्थित सडकमा एनएल ०१ एएफ २९३८ नम्बरको ट्याङ्करले लु ३६ प २२२१ नम्बरको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका १ सिसहियाकी ३० वर्षीया सन्म कुमारी चौधरीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी चौधरीको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । सोही दुर्घटनामा मोटरसाइकल चालकसहित अन्य एक जना घाइते भएका छन् र उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार भएका ट्याङ्कर चालकको खोजी भइरहेको छ ।
त्यसैगरी, रूपन्देहीको देवदह नगरपालिका ९ घोडाहस्थित सडकमा बुटवलबाट खैरेनीतर्फ जाँदै गरेको लु १ ख ९३०१ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री, सोही स्थानमा डेरा गरी बस्ने पाल्पा घर भएकी २८ वर्षीया साक्षी सुनारी मगरको पनि मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारका क्रममा शुक्रबार राति ज्यान गएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






