रौतहट । रौतहट प्रहरीले एक ट्रक भन्सार छलेर ल्याइएको सामानसहित चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले सामानसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी गस्ती टोलीले आइतबार साँझ गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका ५ हनुमान मन्दिरबाट ना ६ ख ५६२ नम्बरको ट्रक कोप्वा बजारतर्फबाट मौलापुर तर्फ जाँदै गरेको अवस्थामा बरामद गरेको हो ।
ट्रक चालक, ट्रक र ट्रकमा लोड रहेको कफीको दाना, गुल, सेन्ट अतर, पान मसला, युरिया मल, सुर्ती, बिडी, हुका, लगायतको सामाग्री बरामद गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
चाडपर्वको समयमा भन्सार छलेर ल्याइएको सामानसहित बरामद गरेको ट्रकलाई रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको उनले बताए । उनका अनुसार ट्रक चालक धादिङको गल्छी गाउँपालिका ६ का ३० वर्षीय विनय लामालाई पक्राउ गरिएको हो ।
भन्सार चलान गरिएको ट्रक र सामानसहितको मूल्य ४७ लाख २८ हजार ६ सय ६६ रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।




