झापा । झापाको बिर्तामोड ६ बुट्टाबारीमा आज बिहान भएको बस दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन् । प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको बस बिहान करिब साढे ९ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेको थियो ।
दुर्घटनामा इटहरी नगरपालिका ११ का ४६ वर्षीय दिनेश कुमार भट्टराई र मोरङ रङ्गेली नगरपालिका २ का ४२ वर्षीय बसका सहचालक राजकुमार चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको र अर्का घाइतेलाई उपचारका लागि लैजाँदै गर्दा बाटैमा निधन भएको हो । अन्य १३ जना घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






