वीरगन्ज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ३ जयमंगलापुरमा २७ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान गाउँपालिकाको टिहुनी झलमहिया–भिष्ण सडकखण्डस्थित वडा कार्यालयभन्दा करिब १०० मिटर पश्चिमतर्फ पुल नजिकै रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार, मृतकले चलाएको भारतीय नम्बर प्लेट १२७३ भएको मोटरसाइकल पुलबाट पोखरीमा खसेर डुबेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।
मोटरसाइकल शव नजिकै फेला परेको र मृतकको शरीरमा कुनै चोट पटक नदेखिएकोले मृत्यु दुर्घटनाबाट भएको हुन सक्ने सम्भावना बढी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरियाले पुगेर अनुसन्धान सुरु गरेको छ । मृतकको मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै निश्चित हुने प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धानपछि शव परीक्षणका लागि वीरगन्ज ल्याइने प्रहरीले जनाएको छ ।




