धनगढी । धनगढी उपमहानगरपालिका ३ बोराडाँडीस्थित सडकमा शनिबार दिउँसो यात्रुवाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
धनगढीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९०७ नम्बरको बसले ठक्कर दिँदा धनगढी उपमहानगरपालिका ४ बस्ने ६० वर्षीय गणेश शाही गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि मायामेट्रो अस्पताल धनगढी लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भयो ।
बसले ठक्कर दिएपछि अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार २० जना घाइते भएका छन् । तीमध्ये ९ जनाको मायामेट्रो अस्पतालमा, ४ जनाको नवजिवन अस्पतालमा, ४ जनाको स्वस्तिक कार्डियो अस्पतालमा र ३ जनाको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस चालक फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






