सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका २ ओद्राहामा बुधबार एक महिलाको शंकास्पद मृत्यु भएको छ । आफ्नै घरको सुत्ने कोठामा २० वर्षीया केसिला कुमारी यादव झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
घटनास्थलको अवस्था भने आत्महत्याभन्दा फरक देखिएको मृतकका परिवारले बताएका छन् । शव झुण्डिएको भएपनि खुट्टा ओछ्यानमा छोएको र शरीरमा निलडामका दाग देखिएको परिवारको भनाइ छ ।
मृतकका पिता राजकुमार यादवले छोरीको हत्या भएको आशङ्का व्यक्त गर्दै प्रहरीमा जाहेरी दिएका छन् । उनले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै मृतकका पति खगेन्द्र यादव र ससुरा मदन यादवविरुद्ध इलाका प्रहरी कार्यालय कडरोवनामा उजुरी दर्ता गराएका छन् ।
इलाका प्रहरी कार्यालय कडरोवनाका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार, शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । “पोष्टमार्टम रिपोर्ट नआएसम्म घटनाको स्वरूप पुष्टि गर्न सकिँदैन,” निरीक्षक रायले बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बर पुरीका अनुसार, पोष्टमार्टमको रिपोर्ट प्राप्त भएपछि मात्रै कानुनी कारबाही अघि बढाइनेछ ।
मृतकका पिता राजकुमारले दस लाख नगद, आधा तोला सुन र फर्निचरलगायत झण्डै १३ लाख रुपैयाँ बराबरको दाइजो दिए पनि छोरीको हत्या गरिएको दाबी गर्दै न्यायका लागि पहल गर्न माग गरेका छन् ।
स्थानीयवासीका अनुसार, छिमेकीले केसिलाको झुण्डिएको अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।






