दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा MRI मेसिन खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको खुलेको छ । उक्त प्रकरणमा तत्कालीन उपकुलपति प्रा.डा. सङ्गीता भण्डारीसहितको संलग्नता रहेको भन्ने उजुरीका आधारमा भएको अनुसन्धानले सार्वजनिक खरिद ऐन र नियमावली विपरीतका क्रियाकलाप भएको देखाएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले “Supply, Delivery and Installation of Magnetic Resonance Imaging (MRI) System (IFB No: RAHS/NCB/HE/15/077/078)” शीर्षकमा बोलपत्र आह्वान गरेको थियो । तर, अनुसन्धानमा प्रतिष्ठानले खरिद आवश्यकताको पहिचान र खरिद गुरुयोजना नै नबनाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बजेट माग गरेको पाइयो, जसले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४ को उल्लङ्घन गरेको देखिएको छ ।
त्यसैगरी, प्रतिष्ठानले निश्चित कम्पनीसँग मात्र मेल खाने गरी प्राविधिक स्पेसिफिकेशन तयार गरेको र एउटै परिवारले सञ्चालन गरेका कम्पनीहरूबाट दररेट माग गरी लागत अनुमान तयार गरिएको तथ्य बाहिर आएको छ । उक्त प्राविधिक स्पेसिफिकेशन तथा लागत अनुमान स्वीकृत नगरी गोरखापत्रमा राष्ट्रियस्तरको बोलपत्र (NCB) आह्वान गरिएको पनि अनुसन्धान प्रतिवेदनले उल्लेख छ ।
अनुसन्धानका अनुसार, प्रतिष्ठानले NCB प्रक्रिया अपनाए पनि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (ICB) का लागि प्रयोग हुने कागजातहरू समावेश गरी प्रचलन विपरीतका अभ्यास गरेका थिए । साथै, सरोकारवालाको उपस्थितिबिनै बोलपत्र खोल्नु पूर्व Lumbini Healthcare Pvt. Ltd. को प्रस्तावका आधारमा प्राविधिक स्पेसिफिकेशन संशोधन गरिएको पाइयो ।
उक्त संशोधनपछि पनि लागत अनुमान पुन: समायोजन नगरी आशयपत्र प्रकाशन गरिएको जनाइएको छ । यसरी गरिएको संशोधनले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५क र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५ क को प्रतिकूल कार्य भएको ठहरिएको छ ।
त्यस्तै, MRI प्रणालीको प्राविधिक मूल्याङ्कन गर्दा CPU clock-pulse rate ≥4.0GHz हुनुपर्ने प्रावधान तोकिएको भएपनि Lumbini Healthcare Pvt. Ltd. ले प्रस्ताव गरेको 2.1GHz (झण्डै ९०.४७% कार्यक्षमता कमी) लाई “Minor Deviation” मानी स्वीकार गरिएको छ । यसलाई बदनियतपूर्ण निर्णयका रूपमा लिइएको छ ।
उक्त गलत मूल्याङ्कनको आधारमा नै प्रतिष्ठानले Lumbini Healthcare Pvt. Ltd. को रु. ११ करोड ४५ लाखको कबोललाई “सारभूत रूपमा न्यूनतम र प्राविधिक रूपमा प्रभावकारी” भन्दै आशयपत्र प्रकाशन गर्ने निर्णय गरेको देखिएको छ ।




