मोरङ । मोरङको कटहरी गाउँपालिकामा एक महिलाले पुरुषको संवेदनशील अंग काटिदिएकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका ३ का ३२ वर्षीय कामत थरका पुरुष सोमबार बेलुका भेट्न पुगेकी महिला साथीबाट आक्रमणमा परेका हुन् ।
प्रहरीका अनुसार महिलाले धारिलो हतियार प्रयोग गरी पुरुषको लिङ्गमा प्रहार गरेकी थिइन् । गम्भीर घाइते भएका ती पुरुषलाई सुरुमा विराटनगरस्थित कोशी अस्पतालमा प्राथमिक उपचारका लागि लगिएको थियो ।
संवेदनशील अंगमा गहिरो चोट लागेकाले चिकित्सकहरूले उनलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरेका हुन् । हाल ती पुरुष नोबेल अस्पतालको आईसीयूमा उपचाररत छन् ।
घाइते पुरुष विवाहित रहेका र उनका श्रीमतीसहित तीन सन्तान रहेको परिवारजनले बताएका छन् । प्रहरीका अनुसार आक्रमण गर्ने महिला कटहरीमै कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।
घाइते पुरुष विगतदेखि नै उनको कोठामा भेट्न जाने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सोमबार पनि भेट्ने क्रममा विवाद उत्पन्न भएपछि घटना घटेको प्रहरीको भनाइ छ ।
विवादकै क्रममा महिलाले डेरामा रहेको धारिलो हतियार (दाउ) प्रयोग गरी आक्रमण गरेकी थिइन् । त्यस क्रममा उनी स्वयं पनि बेहोस भएकी थिइन् र उनलाई समेत कोशी अस्पताल पुर्याइएको थियो ।
होस खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।






