काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा सडक निर्माण ठेक्कामा अनियमितता गरेको अभियोगमा सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार भेरी नगरपालिकाले सञ्चालन गरेको कारागार–रानागाउँ–नेटबजार सडक निर्माण आयोजनामा ठेक्का प्रक्रिया पारदर्शी नबनाई विशेष ठेकेदारलाई लाभ पुग्ने गरी सम्झौता गरिएको प्रारम्भिक प्रमाण फेला परेको हो ।
करिब २ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको ठेक्का २०८० साल फागुन २० गते थापा/सविन/सुदर्शन जे.भी. नामक संयुक्त ठेकेदार कम्पनीसँग २ करोड ६९ लाख ५५ हजार २३३ रुपैयाँ ९० पैसा (भ्याट र अन्य करसहित) मा सम्झौता गरिएको थियो ।
अख्तियारले बोलपत्र प्रक्रियामा प्रतिस्पर्धा र पारदर्शिताको अभाव रहेको र प्रक्रिया कानुनअनुसार नचलाइएकाले ठेक्का फस्र्योटमा अनियमितता भएको ठहर गरेको जनाएको छ ।
मुद्दामा प्रतिवादीका रूपमा भेरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इञ्जिनियर मोहन मल्ल, विकास अधिकृत अनिस शाह, कानुन अधिकृत प्रकाश कुमार शाही, लेखापाल राजेन्द्र बहादुर कठायत, नायब सुब्बा कृति बहादुर थापा र ठेकेदार कम्पनीका प्रतिनिधि तथा सेवा प्रालिका प्रोप्राइटर दीपक बहादुर खत्रीलाई समावेश गरिएको छ ।
आयोगले उनीहरूविरुद्ध ८१ लाख ५३ हजार ६३० रुपैयाँ ५१ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
अख्तियारको भनाइमा ठेक्का प्रक्रियामा मनोमानी र आन्तरिक मिलेमतोका कारण नगरपालिकाको विकास बजेट दुरुपयोग भएको ठोस प्रमाण भेटिएको र अब विशेष अदालतले सो प्रकरणमा कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।




