रौतहट । दिपावली र छठ पर्व नजिकिँदै जाँदा आवश्यक सामग्री किनमेलका लागि सीमापारिका भारतीय बजारमा नेपाली ग्राहकको चहलपहल उल्लेख्य रूपमा बढेको छ । तर सिमानजिकैका नेपाली बजार भने सुनसान जस्तै बनेका छन् ।
दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, भाँडावर्तनलगायतका सामान नेपालभन्दा भारतीय बजारमा सस्तो पाइने भएपछि नेपाली सेवाग्राहीहरूको आकर्षण भारततर्फ बढेको हो । गौरका अधिकांश नागरिक किनमेलका लागि बरगैनिया लगायतका भारतीय बजारतर्फ जाने क्रम दिनप्रतिदिन बढ्दो छ ।
गौरका स्थानीय अमित केशरीका अनुसार चाडपर्वको समयमा नेपाल–भारत सिमानामा सवारीसाधनको लामो जाम हुने गर्छ । “यो समयमा नेपाली बजार सुनसान हुन्छ, भारतीय बजारमा भने किनमेलका लागि भिड हुन्छ,” उनले बताए ।
उनका अनुसार नेपालका तुलनामा भारतमा सामानको मूल्य झन्डै आधा सस्तो पर्छ । चाडपर्वमा आवश्यक चिनी, मैदा, तेललगायतका वस्तु भारतमा सस्तो हुने र अन्य सामानमा पनि १० देखि ३० रुपैयाँसम्मको मूल्य अन्तर रहने गर्छ ।
यहाँका स्थानीयहरू दैनिक उपभोगका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनदेखि विवाह, श्राद्ध, भोजभतेर र चाडपर्वका सामग्रीसमेत भारतबाटै खरिद गर्ने गरेको पाइएको छ । यसले दैनिक रूपमा ठूलो परिमाणमा नेपाली रुपैयाँ भारततर्फ बाहिरिने क्रम बढाएको छ ।
भारतीय बजारको विस्तारले गर्दा स्थानीय नेपाली व्यापारीहरू मारमा परेको रौतहट उद्योग वाणिज्य संघले जनाएको छ । संघका अनुसार स्वदेशी व्यापार प्रवर्द्धनमा राज्यले ध्यान नदिँदा वर्षेनी ठूलो मात्रामा नेपाली मुद्रा विदेशिएको छ ।
संघका प्रतिनिधिहरूका अनुसार भारतीय बजारबाट कतिपय वस्तु तस्करीका माध्यमबाट राजस्व छल्दै नेपाल भित्र्याइन्छन् । यसको प्रत्यक्ष असर स्वदेशमै उत्पादन भएका वस्तुमा पर्न गएको छ, जसका कारण सीमावर्ती बासिन्दाले स्थानीय उत्पादनको सट्टा भारतबाट ल्याइएका वस्तु खरिद गर्ने प्रवृत्ति बढेको छ ।
रौतहट उद्योग वाणिज्य संघले यस विषयमा सम्बन्धित निकायलाई गम्भीर बन्न र स्वदेशी बजार संरक्षणका उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।




