रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण हुन थालेपछि लाभग्राहीहरू समस्यामा परेका छन् । वृद्धवृद्धा र अशक्त व्यक्तिहरू लामो दूरी हिँडेर बैंक पुग्नुपर्ने बाध्यतामा परेका छन् भने सहज सेवाको अभावले उनीहरू निराश बनेका छन् ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि विभिन्न बैंकहरू तोकेको छ वडा नं. १ का लागि सेन्टर फाइनान्स लिमिटेड, वडा नं. २ का लागि ज्योति विकास बैंक, वडा नं. ३ का लागि कृषि विकास बैंक र नेपाल एसबीआई बैंक, वडा नं. ५ का लागि कुमारी बैंक, वडा नं. ६ का लागि लुम्बिनी विकास बैंक, वडा नं. ७ का लागि प्रभु बैंक, वडा नं. ८ का लागि महालक्ष्मी विकास बैंक, वडा नं. ९ का लागि एभरेष्ट बैंक र वडा नं. १० का लागि पुन: सेन्टर फाइनान्स लिमिटेड ।
तर, भत्ता लिन बैंकसम्म पुग्न खर्चिलो र झन्झटिलो प्रक्रिया भएको सेवाग्राहीहरूको गुनासो छ । पछिल्लो समयमा भत्तावाल स्वयं उपस्थित हुनुपर्ने नियमले वृद्धवृद्धाहरू थप समस्यामा परेका छन् ।
चन्द्रपुरका स्थानीय चिरञ्जीवी गौतमका अनुसार, वृद्धवृद्धा आफ्ना छोराछोरी वा नातिनातिनीको साथमा बैंक आइपुग्दा पनि सहज रूपमा भत्ता पाउन कठिन भइरहेको छ । उनले भने, “यहाँका बैंकमा बस्ने सुविधा छैन, त्यसैले आमाबुबा सडकमै लाम लागेर बस्न बाध्य छन् ।”
सेन्टर फाइनान्स लिमिटेडको अगाडि बिहान १० बजेदेखि नै भत्ता लिन आएका वृद्धवृद्धाहरूको लामो लाइन देखिन्छ । गौतमका अनुसार, “वृद्धवृद्धालाई आरामले बस्ने र छिटोछिटो सेवा दिने व्यवस्था हुनुपर्छ ।” शारीरिक रूपमा कमजोर सेवाग्राहीहरूलाई लामो समयसम्म उभिन वा सडकमा बस्न कठिन भएको बताइन्छ ।
स्थानीय नागरिक र सामाजिक कार्यकर्ताहरूले वृद्धभत्ता वितरण कार्यलाई मानवीय दृष्टिले सहज र सम्मानजनक बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जय काफ्लेले यस विषयमा बैंकहरूसँग समन्वय भइरहेको बताए ।
उनले भने, “वृद्धवृद्धालाई बैंकभित्रै बस्ने र छिटोछिटो सेवा दिने व्यवस्था गर्न बैंकसँग कुरा भइरहेको छ । आगामी दिनमा यस्तो समस्या दोहोरिन नदिन आवश्यक तयारी र व्यवस्थापन गरिनेछ ।” स्थानीय स्तरमै कागजी प्रक्रिया पूरा गरी वडाबाटै भत्ता वितरण गर्ने प्रणाली लागू भए, वृद्धवृद्धाहरूको समस्या घट्ने देखिएको छ ।




