वीरगञ्ज । वीरगञ्जको स्थानीय बजारमा हरियो तरकारीको मूल्य हालसम्मकै उच्च पुगेको छ । गत असोज १८ गते आएको बाढीका कारण किसानहरूले लगाएका तरकारी बालीहरू नष्ट भएपछि बजारमा मागअनुसार आपूर्ति हुन नसक्दा तरकारीको मूल्य आकासिएको व्यवसायीहरूको भनाइ छ । आलु र प्याज बाहेक अधिकांश हरियो तरकारीको मूल्य प्रतिकिलो एक सय रुपैयाँभन्दा माथि पुगेपछि सर्वसाधारण तथा गृहिणीहरू मारमा परेका छन् ।
गृहिणी लक्ष्मीदेवी गुप्ताका अनुसार तराईका मघेशी समुदायमा दसैंदेखि छठसम्म माछामासु नखाने परम्परा भएकाले पनि यस समयमा हरियो तरकारीको माग अत्यधिक बढ्ने गर्छ । तरकारीको मूल्य बढेपछि भान्सामा हुने परिकारमा समेत कटौती गर्नुपरेको गृहिणी रमितादेवी साह बताउँछिन् ।
उहाँका अनुसार पहिले दुई थरिका तरकारी पाक्ने गरेपनि अहिले मूल्य बढेपछि एक थरीमा सीमित भएको छ र चना तथा गेडागुडीले तरकारीको सट्टा भान्सामा स्थान पाएका छन् । तरकारी व्यवसायी रमेश तुरहाका अनुसार नेपाली बजारबाट माग अनुसार तरकारी आपूर्ति हुन नसक्दा भारतीय सिमानाको रक्सौल नाकाबाट भित्रिने हरियो तरकारीले मूल्य सन्तुलनमा केही भूमिका खेलेको छ । तर पनि बजारमा अधिकांश तरकारीको मूल्य उच्च छ ।
वीरगञ्ज बजारमा गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा सानो (लोकल) १२०, आलु रातो (लोकल) ६०, आलु रातो (भारतीय) ५०, प्याज (भारतीय) ५५, गाजर (लोकल) १४०, बन्दा (लोकल) ६५, काउली १६०, भन्टा १२० देखि १६०, मटरकोसा ६००, तितो करेला १२०, लौका प्रतिगोटा १०० देखि १४०, परवर १२० देखि १४०, घिरौँला १००, तोरीको साग १८०, काँक्रो ८०, खुर्सानी १२० र हरियो धनियाँ प्रतिमुठा २० रुपैयाँमा बिक्री भइरहेको छ ।
व्यवसायी हीरा साहका अनुसार छठ पर्वसम्म माग अझ बढ्ने भएकाले हरियो तरकारीको मूल्यमा अझ वृद्धि हुने अनुमान गरिएको छ ।






