जलेश्वर । तिहार पर्वको समापनसँगै तराई–मधेससहित देशकै प्रमुख धार्मिक पर्वको रूपमा मनाइने छठ पर्वको तयारी मिथिलाञ्चलभर सुरु भएको छ । भक्तजनहरूले सूर्य भगवान र छठी माताको आराधनाका लागि पोखरी, तलाउ र नदी घाटहरूको सरसफाइ, सजावट र मन्दिर निर्माणमा जुटेका छन् ।
संस्कृतिविद् ध्रुव रायका अनुसार मिथिलाञ्चलमा छठलाई निष्ठा, श्रद्धा र शुद्धताको पर्वका रूपमा मानिन्छ । सूर्य भगवानलाई अर्घ्य अर्पण र छठी माताको पूजापाठ जलाशयमै गरिने भएकाले जलाशयहरूको सरसफाइ र घाट निर्माणलाई विशेष प्राथमिकता दिइएको छ ।
जलेश्वर नगरपालिका ८ का वडाध्यक्ष विजयकुमार सिंहले पोखरी, तलाउ र नदी किनारमा खाल्डाखुल्डी पुर्ने, बाटो मर्मत गर्ने, घाट सिँगार्ने तथा सरसफाइका काम तीव्र गतिमा भइरहेको बताए । उनका अनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि स्थानीयवासी, युवादल र स्वयंसेवकहरू सामूहिक रूपमा तयारीमा सक्रिय छन् ।
जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले छठ पर्व मिथिलाको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको बताए । “छठ केवल पूजा होइन, यो संस्कार र सामूहिक आस्थाको प्रतीक हो,” उनले भने । नगरपालिकाले घाट र सरसफाइमा आवश्यक सहयोग पुर्याइरहेको पनि उनले जानकारी दिए ।
जलेश्वर नगरपालिका ८ स्थित प्रसिद्ध पाठक पोखरीमा यस वर्ष विशेष तयारी गरिएको छ । छठ पूजा समिति संयोजक केशव झालेका अनुसार पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर अस्थायी मन्दिर निर्माण भइरहेको छ । पानीमै तैरिने बाँसको बाटो, पाँच सय मिटर लामो गुफा शैलीको पन्डाल, बत्ती र रंगीन साजसज्जाले सम्पूर्ण क्षेत्र आकर्षक बनाइएको छ ।
त्यस्तै, जलेश्वर नगरपालिका १ स्थित वरुण सरोवरमा पनि चारैतिर भव्य पन्डाल र रंगीचंगी सजावटको काम भइरहेको वडाध्यक्ष अनिल झाले बताए । उनका अनुसार स्थानीय युवाहरू दिनरात तयारीमा जुटेका छन् ।
महोट्टरीका अन्य क्षेत्रहरू- मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायतका नदी घाटहरूमा पनि छठ पर्वका लागि सरसफाइ, बाँसको संरचना निर्माण र प्रकाश व्यवस्थापन तीव्र गतिमा भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले जानकारी दिए ।
मिथिलाञ्चलमा छठ पर्व चार दिनसम्म मनाइने परम्परा छ । आगामी केही दिनमा नहाय–खाय, खरना, सन्ध्या अर्घ्य र बिहानको अर्घ्यका साथ यो पर्व उल्लासपूर्वक मनाइने तयारी छ ।




