झापा । झापाको शिवसताक्षी नगरपालिकामा सर्पको डसाइबाट एक पाँच वर्षीय बालकको ज्यान गएको छ। मृत्यु हुनेमा शिवसताक्षी ७ लालपानीका मनकुमार तामाङका छोरा सक्षम तामाङ रहेका छन् ।
बालक शुक्रबार साँझ घर नजिकैको बाँसको झ्याङछेउ खेलिरहेका बेला बायाँ खुट्टामा गोमन सर्पले टोकेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । सर्पले टोकेको केही बेरमै उनी बेहोस भएपछि उपचारका लागि तत्कालै विर्तासिटी अस्पताल, बिर्तामोड लगिएको थियो ।
तर अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको सर्पदंश उपचार केन्द्र, चारआलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । घटनापछि स्थानीयले बालक खेलिरहेको स्थान नजिकै विषालु गोमन सर्प फेला पारेका थिए, त्यसपछि सर्पदंशको पुष्टि भएको थियो ।






