रौतहट । रौतहटको कटहरिया नगरपालिकाका कर्मचारीहरू पुन: आन्दोलित भएका छन् । नगरपालिकामा कार्यरत करार र ज्यालादारीका कर्मचारीहरूले लामो समयदेखि तलब–भत्ता नपाएको भन्दै आज (बुधबार) देखि कार्यालयमा तालाबन्दी गरेका हुन् ।
दिपावली तथा छठ पर्व अगावै भुक्तानी गर्ने भनिए पनि रकम नआएकाले आन्दोलनमा उत्रनु परेको कर्मचारीहरूको भनाइ छ । कटहरिया नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय र नगरपालिकाको मुख्य कार्यालयमा तालाबन्दी गरिएको वडा नं. ८ का कर्मचारी मुकुन्द यादवले बताए । उनका अनुसार छठ पर्व अघि नै तलब–भत्ता दिने आश्वासन पाए पनि अहिलेसम्म रकम नपाएको हो ।
‘लामो समयदेखि नगर सेवामा समर्पित छौं,’ यादवले भने, ‘तर समयमा तलब–भत्ता नपाउँदा अहिले दैनिक जीवन नै प्रभावित भएको छ ।’ कर्मचारीहरूले तलब भुक्तानी नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरूले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले असोजमा दिएको लिखित आश्वासन कार्यान्वयन नगरेको आरोप पनि लगाएका छन् ।
यसैबीच, नगरप्रमुख अजय प्रकाश जयसवालले करारका कर्मचारीहरूको मागप्रति नगरपालिका गम्भीर रहेको बताउँदै विभिन्न प्रशासनिक कारणका कारण भुक्तानीमा ढिलाइ भएको स्वीकार गरेका छन् । उनले भने, “समस्या समाधानका लागि पहल भइरहेको छ र यथासिघ्र तलब–भत्ता उपलब्ध गराइनेछ ।” आन्दोलनका कारण हाल कटहरिया नगरपालिकाको कामकाज प्रभावित भएको छ ।




