झापा । बिहीबार बिहान मेचीनगर १४ स्थित हातेमालो सामुदायिक वनभित्र एउटा कार जलेको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार, मेची राजमार्ग अन्तर्गत चारआली–चन्द्रगढी खण्डको सडकबाट करिब २०० मिटर टाढा जंगलभित्र कार पूर्णरुपमा जलेको अवस्था भेटिएको हो । कारको नम्बर प्लेटसमेत जलेको छ ।
हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलका अनुसार, स्थानीयले कारलाई सडकबाट जंगलतर्फ लैजाँदै गरेको देखेका थिए । केही बेरपछि कारमा आगो लागेको खबर पाएपछि प्रहरी र दमकल घटनास्थलमा पुगेको थियो । स्थानीयको आशंका अनुसार कार चालकले नै वनभित्र लगेर आगो लगाएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीपछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।






