सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ सदा टोलमा दुई सातादेखि फैलिएको झाडापखालाले एकै परिवारका दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ । सो टोलका एक दर्जनभन्दा बढी स्थानीय झाडापखालाबाट प्रभावित भएका छन् ।
स्थानीय बुचन सदाको परिवारमा पहिलो मृत्यु उनका एक वर्षीय छोरा संजीव सदाको अघिल्लो बिहीबार भएको हो । संजीवसहित बुचनका ६६ वर्षीय बुवा लक्ष्मण सदा, २६ वर्षीया श्रीमती पार्वतीदेवी र ४ वर्षीया छोरी राघिनी पनि पखालाले ग्रस्त थिए । उनीहरू गाउँकै क्लिनिकबाट औषधि लिएर उपचार गराइरहेका थिए तर पखाला नरोकेपछि अवस्था झनै बिग्रँदै गएको बताइएको छ ।
लक्ष्मण सदाको निधनको एक साता नबित्दै बुचनकी छोरी राघिनीको पनि गत शुक्रबार मृत्यु भएको हो । पञ्जाबमा मजदुरी गर्दै आएका बुचन किरियामा बसेकै अवस्थामा छोरीको निधन भएपछि विक्षिप्त बनेका छन् । उनको अर्को छोरी राधिका पनि पखालाले ग्रस्त भएकी छिन् तर आर्थिक अभावका कारण उपचार गराउन नसकिएको परिवारजनले बताएका छन् ।
सदा टोलका अन्य बासिन्दा पनि यस रोगको चपेटामा परेका छन् । स्थानीय शिवशंकर सदाकी छोरी १० वर्षीया करिना, कृष्णा सदाकी पत्नी २५ वर्षीया लिलमदेवी, उनकी छोरीहरू ३ वर्षीया गायत्री र ६ वर्षीया सुगन्धा, ६० वर्षीय बौकु सदा लगायत एक दर्जनभन्दा बढी व्यक्ति झाडापखालाबाट प्रभावित भएका छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्रप्रसाद यादवका अनुसार उनीहरूलाई झाडापखालाको संक्रमणबाट ज्यान गएको जानकारी शुक्रबार राति मात्र फेसबुकमार्फत प्राप्त भएको हो । उनले आइतबार गाउँमा विपद् व्यवस्थापन बैठक बोलाई जनचेतनामूलक कार्यक्रम, स्वच्छ पानी वितरण र औषधि अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
स्वास्थ्यकर्मीका अनुसार दूषित खानेपानी र सरसफाइको कमीले झाडापखाला फैलिएको हुनसक्ने आशंका गरिएको छ । स्थानीयले तत्काल स्वास्थ्य शिविर स्थापना गरी सबै प्रभावित परिवारको उपचारको माग गरेका छन् ।




